दैलेख : निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ताराघाट–काशीकाँध सडक निर्माणको भौतिक प्रगति निराशाजनक रहेको छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७९ भदौ ९ गते पन्त आकृति जेभी निर्माण सेवा गुल्मीले छ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का भएको थियो । तर, सम्झौता अवधि सकिन सात महिना बाँकी रहँदा सडक निर्माणको भौतिक प्रगति ४५ प्रतिशत मात्र पुगेको पाइएको हो ।
तोकिएको समयमा निर्माण कार्य सक्ने गरी १६ करोड १४ लाख ८६ हजारमा पन्त आकृति जेभी निर्माण सेवा गुल्मीले पूर्वाधार विकास कार्यालय दैलेखसँग २०७९ भदौ ९ गते ठेक्का सम्झौता भएको थियो । बहुवर्षीय योजनाअन्तर्गत बन्दै गरेको ताराघाट, खरिगैरा रानीवन काशीकाँध सडक खण्डको पहिलो चरणमा सुरु गरिएको कामले गति नलिँदा स्थानीय प्रदूषण खेप्न बाध्य छन् ।
सडक निर्माणमा भएको ढिलासुस्ती बारेमा आफूले स्थलगत निरीक्षण गरेको र काम तीव्र गतिमा गर्न निर्माण कम्पनीलाई ताकेता गरेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख ई.पदमप्रसाद देवकोटाले बताए । उनका अनुसार सडक निर्माणको हालसम्म भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत रहेको छ । सडक निर्माणको कामलाई गुणस्तरीय बनाउन स्थानीय जनप्रतिनिधि र निर्माण कम्पनीसँग आवश्यक समन्वयसँगै सहजीकरण गर्दै आएको देवकोटाको भनाई छ ।
महाबु गाउँपालिका दैलेखका अध्यक्ष जङ्गबहादुर शाहीले सडक निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पनि नपुगेको बताए । काम छिटो सम्पन्न गर्न पटक–पटक आग्रह गर्दै आएको भए पनि निर्माण कम्पनीको हेलचक्र्याइँका कारण कामले गति लिन नसकेको अध्यक्ष शाहीको भनाई छ । सडक निर्माणको कामलाई तिव्रता दिन पूर्वाधार विकास कार्यालय दैलेखलाई आग्रह गर्दै आएको उनले बताए ।
सडक निर्माणको काममा निर्माण कम्पनीले थोरै संख्यामा कामदार खटाउने गरेकाले एक साताभित्र द्रुत गतिमा काम अघि नबढाएमा कारबाही प्रक्रिया अघि बढाइने अध्यक्ष शाहीको भनाई छ । ‘सडक निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको देखिदैन । निर्माण कम्पनीलाई द्रुत गतिमा काम अघि बढाउन भनेको छु ।,’ अध्यक्ष शाहीले भने ।
सडक निर्माण कम्पनी पन्त आकृति जेभी गुल्मीका प्राविधिक अनिष पोखरेलले जनप्रतिनिधि र स्थानीयका कारण सडक निर्माणमा अवरोध हँुदै आएको बताए । काम गर्न स्थानीय र जनप्रतिनितिले अवरोध गर्दै आएका छन् । निर्माण कम्पनीले सडक निर्माणका लागि स्थानीय स्रोतको प्रयोग गर्न पाएको छैन । देखिएका समस्या समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छौँ ।,’ प्राविधिक पोखरेलले भने ।
महाबु गाउँपालिकाका प्रवक्ता प्रकाश थापाले ताराघाट काशीकाँध सडक निर्माणमा निर्माण कम्पनीको लापरबाहीले काम ढिला भएको बताए । उनले स्थानीय नागरिकको कुनै पनि विरोध नभएको सडकमा विभिन्न बहानामा निर्माण कम्पनीले भाग्ने र काम नगर्ने समस्या रहेको बताए । उनले भने, ‘निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालयलाई राखेर कामलाई तीव्रता दिन ताकेता गरेका छौँ । बाँकी रहेको समयमा काम सम्पन्न हुनेमा आशङ्का छ ।,’
ताराघाट काशीकाँध सडक निर्माणका लागि पहिलो चरण २४ करोडको बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनीले १६ करोड १४ लाख ८६ हजारमा सम्झौता गरेको थियो । वहुवर्षीय योजनामा पुनः ठुलो मात्रामा बजेट विनियोजन नहुने भएका कारण कामलाई तोकिएको समयमा सक्न स्थानीय सरकार महाबु गाउँपालिकाले ताकेता गर्दै आएको वडा अध्यक्ष थापाले बताए ।
सम्झौता सकिन सात महिना बाँकी रहँदा समेत सडक निर्माण कार्यले गति लिन नसकेको भन्दै निर्माण कम्पनीलाई कामको रफ्तार बढाउन आग्रह गर्दै आएको भए पनि सम्बन्धित पक्षबाट बेवास्ता हुँदै आएको महावु गाउँपालिका–२ का अम्मरबहादुर थापाले बताए । निर्माण गर्ने कम्पनीले भौतिक विकास गर्दा अपनाउनुपर्ने सामान्य मापदण्ड समेत पूरा नगर्दा नागरिकहरु सास्ति भोग्न बाध्य रहेको स्थानीयको भनाई छ ।
जङ्गबहादुर शाही
अध्यक्ष
महाबु गाउँपालिका, दैलेख
“सडक निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको देखिदैन । काम छिटो सम्पन्न गर्न पटक–पटक आग्रह गर्दै आएका छौँ । निर्माण कम्पनीको हेलचक्र्याइँ र सम्बन्धित कार्यालयको लापरबाहीका कारण सडक निर्माणले गति लिन नसकेको हो । एक साताभित्र द्रुत गतिमा काम अघि नबढाए निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाउँछौँ ।”
अनिश पोखरेल
प्राविधिक
पन्त आकृति जेभी गुल्मी
“जनप्रतिनिधि र स्थानीयका कारण सडक निर्माणमा कार्यमा अवरोध हुँदै आएको छ । सडक निर्माणका लागि स्थानीय स्रोत साधनको प्रयोग गर्न पाइदैन । सडक निर्माणका लागि ढुङ्गा बोक्न प्रयोग गरिने ट्याक्टर सञ्चालनमा समेत स्थानीयले अवरोध सिर्जना गर्दै आएका छन् । स्थानीयबाट हुँदै आएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छौँ ।”










